धरहरा भत्किँदा बचेकी रमिलालाई सम्मान

काठमाडौं,धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन्।शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो।

२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन्।गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो ।भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचना नष्ट भएको थियो।

धरहराको उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई पनि सम्मान गरेका छन् ।