ओलीको दम्भ नवनिर्मित धरहराको उकालो चढ्दैछः माधव नेपाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ नवनिर्मित धरहराको उकालो चढ्दै गरेको टिप्पणी गरेका छन्।शुक्रबार जनकपुरधामस्थित पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले ओलीले दम्भको वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताएका हुन्।

‘केपी ओलीको दम्भ काठमाडौँको नवनिर्मित धरहराको उकालो चढ्दै छ।’ उनले भनेका छन्, ‘ओलीका कारण लोकतान्त्रिक आन्दोलन संकटमा पर्यो।’यस्तै, उनले पार्टीमा आफू अल्पमतमा परेपछि ओलीले बाटोमा हिँड्नेलाई समातेर केन्द्रीय सदस्य बनाएको बताएका छन्। त्यसपछि बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छोडेको उनको भनाई छ।

नेता नेपालले बालुवाटारको बालुवामा तेल नभएकोसमेत बताएका छन् । बुधबार र बिहीबार ओलीसँग भएको भेटवार्ताबाट सकारात्मक परिणाम नआएपछिको अवस्थालाई संकेत गर्दै उनले भनेका छन्, ‘बालुवाटारको बालुवामा तेल छैन। बालुवा जति पेले पनि तेल निस्किने अवस्था छैन ।’