प्रदेश २ को नामाकरण र राजधानी तोक्न दुई प्रस्ताव

धनुषा,प्रदेश २ को स्थायी राजधानी नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा सचिवालयमा दुई फरक प्रस्ताव दर्ता भएको छ।नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का प्रदेश सभा सदस्यहरूले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्‌।प्रदेश सभा सदस्यहरूले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुईवटा प्रस्ताव दर्ता गराएका प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए‌।

प्रदेशको नामाकरणका लागि जसपाका तर्फबाट प्रदेश सभा सदस्य शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका तर्फबाट प्रदेश सभा सदस्य भरतप्रसाद साह, राजधानीका लागि जसपाका प्रदेश सभा सदस्य परमेश्वर साह तथा माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरतप्रसाद साहले प्रस्ताव दर्ता गराएका हुन्‌।​दुवै दलका प्रदेश सभा सदस्यहरूले प्रदेशको नाम ‘मधेस’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गराएको सचिव यादवले बताए।

जसपाको तर्फबाट राजधानी ‘जनकपुरधाम’ राख्ने परमेश्वर साहको प्रस्तावमा प्रदेश सभा सदस्यहरू चमेलीदेवी दास, सञ्चमाया मोक्तान र मीराकुमारी साहले समर्थन जनाएका छन्। नामाकरण ‘मधेस’ राख्ने शैलेन्द्रकुमार यादवको प्रस्तावमा प्रदेश सभा सदस्यहरू रानीकुमारी तिवारी र बबिता कुमारीले समर्थन जनाएका छन्।माओवादी केन्द्रको तर्फबाट राजधानी ‘जनकपुरधाम’ र नामाकरण ‘मधेस’ राख्ने प्रस्ताव संसदीय दलका नेता भरतप्रसाद साहले दर्ता गराएका हुन्‌। सो प्रस्तावमा प्रदेश सभा सदस्यहरू जगतप्रसाद यादव र दिलीपकुमार साहले समर्थन जनाएका छन्।

यसअघि वि।सं। २०७६ साल चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानी तोक्न गरिएको प्रयास असफल भएको थियो। त्यतिबेला दलहरूबीच राजधानी र प्रदेशको नाममा विवाद भएको थियो। प्रदेश सभामा नामसम्बन्धी ४ वटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो। तर, नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरूमध्ये कुनैका पक्षमा पनि दुई तिहाई मत आउन सकेको थिएन।

प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको भन्दै कडा आलोचना भइरहेको छ। सरकारमाथि आलोचना बढिरहेका बेला प्रदेश सभा सचिवालयले बैशाख २ गते प्रदेशको नाम र राजधानीका लागि बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो। सचिवालयका सचिव रञ्जितकुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन आह्वान गरेका हुन्।

यसअघि तत्कालीन संघीय समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेका थिए। नेपाली कांग्रेसले मिथिला(भोजपुरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेश सभा सदस्य राजेश्वर साहले मध्य(मधेस नाम प्रस्ताव दर्ता गराएका थिए।

तत्कालीन नेकपाले भने जानकी प्रदेश नाम प्रस्ताव गरेको थियो।