ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन्।

एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित बोहोराले वक्तव्य जारी गर्दै भोलिको बैठक रोक्न आग्रह गरेका हुन्।‘अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा २०७८ वैशाख ८ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोकिनुपर्छ’, वक्तव्यमा उल्लेख छ।

उत्तेजना, आवेश र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न नहुने बोहराले उल्लेख गरेका छन्।वक्तव्यमा अदालतको फैसलाअनुसार, २ जेठ २०७५ अगाडिकै एमाले संरचना कायम गर्न पनि उल्लेख गरिएको छ। बोहराले गएको २८ फागुनमा अध्यक्ष ओलीले एक्लौटी निर्णय गरेकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव पनि दिएका छन्।