देशको हितविपरीत काम गर्दिनँः सभामुख

काठमाडौं,सभामुख अग्निप्रसाद सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने बताएका छन्।नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रममा सभामुखले भने, ‘देश र जनताको पक्षमा काम गर्न कसैले मलाई रोक्न सक्दैन। म त्यसका लागि दृढतापूर्वक लागेका छु। म जतिबेला जिम्मेवारीमा रहन्छु, मैले खाएको शपथअनुसार देश र जनताको पक्षमा निरन्तर लाग्छु।’

देश र जनताको काम गर्न रोक्न जस्तोसुकै दबाब र प्रभाव आए पनि नरोकिने बताए।उनले भने, ‘देश र जनताको लागि कुनै कुराको त्याग र जोखिम उठाउन तयार छु। मलाई कसैले रोक्न सक्दैन। म त्यस्तो कुराको वास्ता गर्दिनँ। आफ्नो ढंगले काम गर्छु। देश र जनताको हितविपरीत कुनै काम गरेका छैन। गर्दिनँ पनि।’

उनले प्रधानमन्त्री के पी शर्मा ओलीले हालै सभामुखको नाम लिएरै दिएका अभिव्यक्तितर्फ लक्षित गर्दै उनले आफूले कसैको दबाब र प्रभावबिना काम गरेको र गर्ने बताए।‘संसदलाई चलायमान बनाउन संविधानअनुसार अगाडि बढ्न सुरु भएपछि संसदमाथि घेराबन्दी हुन थाल्यो। अहिले पनि भइरहेको छ। केही व्यक्तिले धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ। तर, सधै सकिँदैन’, उनले भने।

कानुन निर्माणमा संसद्को महत्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई प्रभावकारी ढंगले चलाउन प्रयास गर्ने समेत बताए। नेपाली जनता लोकतन्त्रको मूल्य र मान्यताको आधारमा चल्ने उनले बताए।