प्रधानमन्त्री र विप्लवबीच पुनः भेटवार्ता

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासोसहित उनले ओलीलाई भेटेका हुन्।भेटमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए।

प्रधानमन्त्री ओलीले केही कानूनी प्रक्रिया पूरा गरेर कैदीबन्दी रिहाइको प्रक्रिया सुरु हुने जवाफ विप्लवलाई दिएको स्रोतको भनाइ छ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको अनलाइनखबरलाई बताए।

कैदीबन्दी रिहाइमा ढिलो भएको भन्दै विप्लवले यसअघि ९ चैतमा पनि प्रधानमन्त्री ओलीलाई भेटेर गुनासो गरेका थिए।विप्लव समूहका १२३ जना नेता, कार्यकर्ता अझै कारागारमा छन्।अनुसन्धानका लागि हिरासतमा राखिएकाहरु भने छुटेका छन्।विप्लव समूह र सरकारबीच २० फागुनमा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।