कांग्रेस नेता शाहीद्वारा प्रमुख प्रतिपक्षी दलको सुविधा फिर्ता

सुर्खेत,नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा प्राप्त सरकारी गाडी फिर्ता गरेका छन्।

शुक्रबार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई कांग्रेसले विश्वासको मत दिएको थियो । ‘अब हामी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष रहेनौं,’ कांग्रेस संसदीय दलका नेता शाहीले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले प्राप्त गाडीलगायतका सबै सुविधाहरु फिर्ता गरेको छु।’ उनले भने।

कांग्रेस संसदीय दलका नेता शाहीलाई संसद सचिवालयले लु १ झ ४२६ नम्वरको गाडी दिएको थियो। उनले संसद सचिवालयका कर्मचारीमार्फत उक्त गाडी फिर्ता गरेका हुन्। शाहीले कोरोना अवधिभर पनि गाडी प्रयोग गरेनन्। कोरोना संक्रमितहरुलाई समयमै अस्पतालसम्म पुर्‍याउने प्रयोजनका लागि भन्दै सचिवालयमार्फत गाडी फिर्ता गरेका थिए।

‘सरकारलाई विश्वासको मत दिइसकेपछि प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले सरकारी सुविधा उपभोग गर्नु राम्रो होइन्, उनले भने, ‘आइतबार कार्यालय खुल्ने वित्तिकै संसद सचिवालयका कर्मचारीहरुलाई गाडीको चावी हस्तान्तरण गरेको छु ।’