बादलले आजै पुनः नियुक्ति पाउने

सपथग्रहणको तयारी

काठमाडौँ,राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै स्वतः गृहमन्त्री पद पनि गुमाएका रामबहादुर थापा ‘बादल’ले आजै पुनःनियुक्ति पाउने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको हो।संवैधानिक व्यवस्थाअनुसार थापा सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउनेछन्।नेकपा माओवादी केन्द्रले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गरेका हुन्।

एकिकृत नेकपालाई सर्वोच्च अदालतले खारेज गरेसँगै बादल नेकपा एमालेतर्फ लागेका थिए। यसअघि माओवादीले एमालेमा लागेर मन्त्री बनेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाईसमेत सांसद पदबाट मुक्त गरिसकेको छ ।