कर्णालीमा मन्त्री उपहार पाउनेहरुको आज सपथ

काठमाडौँ,कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको पद तथा गोपनियताको सपथ आज हुने भएको छ।

नेकपा एमालेको ह्विप नमानेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि मन्त्री पद उपहार पाएका ३ जनाले आज शपथ ग्रहण गर्न लागेका हुन् । मुख्यमन्त्री शाहीले शनिबार नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए।

उनीहरुलाई साँझसम्म शपथ खुवाउने तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।शुक्रबार मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका थिए। शाहीको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको थियो । जसमा एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । ज्वाला भने मन्त्री बनेका छैनन् ।