कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि लगाइदै

चितवन,कोरोना विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने तयारी भएको छ। जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी,सरसफाइकर्मी,शव व्यवस्थापनका सुरक्षाकर्मी,कर्मचारी,सुरक्षाकर्मी,जनप्रतिनिधि,पत्रकार,बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई दोस्रो डोज दिन लागिएको हो।

सो चरणमा खोप लगाउनेको सङ्ख्या १४ हजार रहेको छ।यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने यस चरणमा खोप लगाइने छैन। जिल्लामा २७ हजारलाई दोस्रो चरणमा खोप लगाइएको कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिए । दोस्रो चरणका लागि समय नपुगेको र खोप आइनसकेकाले केही समयपछि दोस्रो डोज खोप लगाईने छ।

उनका अनुसार पहिलो चरणमा पाँच वटा केन्द्रमार्फत खोप लगाइएको भए पनि दोस्रो चरणमा भने केन्द्र विस्तार गरिएको छ। जिल्लाका ठूला अस्पताल र मेडिकल कलेजमा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सोही अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ । तिवारीका अनुसार जिल्लाका सातवटै पालिकामा रहेकालाई खोप लगाउन सम्बन्धित पालिकामा नै खोप केन्द्र रहने छन्।

बाँकीका लागि स्वास्थ्य कार्यालय चितवनमा रहेको संस्थागत क्लिनिकमा खोप केन्द्रको व्यवस्था गरिएको छ। उनले भने, “लामो समय पालो कुर्न नपर्ने गरी व्यवस्था मिलाएका छौँ ।”