प्रदेश-२ को नाम र राजधानीका लागि प्रस्ताव आह्वान

जनकपुर,प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना जारी गरेको छ।प्रदेश सभा सचिवालयले वैशाख ९ गते दिनको ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन आह्वान गरेको हो । नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदले प्रस्ताव दर्ता गराउन सक्ने सचिवालयले वताएको छ।

यसअघि ४ चैत, २०७६ मा प्रदेश २ को प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो । तर नाम र राजधानी तोक्नका लागि प्रदेशसभाको दुई तिहाइ बहुमत चाहिनेमा नपुगेपछि अस्वीकृत भएको थियो।१०७ सदस्यीय प्रदेशसभामा नाम र राजधानी स्वीकृत हुन ६९ सदस्यको समर्थन जुटाउनुपर्छ । यसअघिको नाम र राजधानीबारे मतदान हुदा सत्तारुढ तत्कालिन समाजवादी र राजपाले प्रस्ताव गरेको ‘मधेश’ नाममा ६० मत आएको थियो।

कांग्रेस पर्साका सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको ‘मध्य मधेस’ नामको पक्षमा ४२ मत आएको थियो भने नेकपाले प्रस्ताव गरेको ‘जानकी’ को पक्षमा ३७ र कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला–भोजपुरा’ को पक्षमा २८ मत आएको थियो।जनकपुरधामलाई स्थायी राजधानी तोक्ने सन्दर्भमा राजनीतिक सहमति गरिएपनि यो प्रस्ताव पनि अस्वीकृत भएको थियो ।

यो प्रस्तावको पक्ष र विपक्षमा ५२-५२ मत आएको थियो भने तीन वटा मत बदर भएको थियो।कुल १ सय ७ सांसदमध्ये माओवादी केन्द्रले आफ्ना चार जना सांसदलाई बर्खास्त गरेपछि अहिले संसदमा सांसदको संख्या १ सय ३ छ । यसमध्ये सत्तारुढ जनता समाजवादी पार्टीसँग ५५, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९, माओवादी केन्द्रसँग ७ र नेपाल संघीय समाजवादी पार्टीसँग १ सांसद छन् ।