शिवगढीमा नेकपाको केन्द्रीय कार्यालय शिलान्यास

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कपिलवस्तुको शिवगढीमा पार्टी केन्द्रको सम्पर्क कार्यालय बनाउने भएको छ । अहिलेलाई सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी निर्माण गर्न लागिएको उक्त भवन नेकपाका महासचिव विप्लवले बुधबार शिलान्यास गरेका छन् ।सरकारसँग २१ फागुनमा तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव नेतृत्वको नेकपाले अहिलेसम्म काठमाडौंमा भने औपचारिक कार्यालय खोलेको छैन ।

करिब एक करोड लागत अनुमान गरिएको उक्त पार्टी कार्यालयसँगै एउटा सभाहलसमेत निर्माण गर्ने योजना नेकपाको छ । उक्त भवन निर्माणको जिम्मेवारी पाएका पार्टी केन्द्रीय सदस्य सञ्जीवकुमार झाँक्रीका अनुसार आगामी असार भन्दा अगाडि नै योजना सम्पन्न गर्ने गरी काम सुरु भइसकेको छ । पार्टी कार्यालयको भवन चार कोठाको पाँचतले हुनेछ भने दुईतले सभाहल भवनमा करिब तीन सयभन्दा बढी मानिस अटाउनेछन् ।

झाँक्रीका अनुसार वर्षायामभन्दा अगाडि दुवै भवनका एक तलाको काम मात्रै सम्पन्न गरिने र बाँकी काम पछि गर्ने गरी पार्टीले योजना बनाएको छ । करिब पाँच रोपनीभन्दा बढी क्षेत्रफल रहेको यस क्षेत्रमा नेकपाले केही समयपछि सहिद स्मृति पार्कसमेत निर्माण गर्ने बताएको छ ।

‘राणा शासनयता भएका प्रगतिशील आन्दोलनका सम्पूर्ण योद्धा र सहिदहरूको सम्मानमा एउटा पार्क बनाउने योजना पनि छ । तर, त्यसका लागि केही समय लाग्ने देखिन्छ । हामीले योजना भने तयार पारिसकेका छौँ,’ झाँक्रीले भने ।

संरचना निर्माण गर्न लागेको उक्त जग्गा पार्टीको आफ्नै सम्पत्ति भएको नेकपाको दाबी छ । रोल्पामा गरेको आठौँ महाधिवेशनमा नेकपाले देशका विभिन्न क्षेत्र र साबिकका गाविसस्तरमा एक–एकवटा भवन बनाउने योजना पारित गरेको त्यहीअनुसार अहिले काम सुरु भएको झाँक्रीले बताए । उनका अनुसार त्यसैमध्येको एक यही भवन निर्माण गर्ने योजनासमेत थियो ।

उनले भवन निर्माणका लागि पार्टीसँग भएको रकमका साथै उद्योगी, व्यापारी र जनतासँग सहयोग माग्ने बताए । साथै, भवन निर्माण कार्यमा पार्टीका नेता–कार्यकर्तालाई समेत श्रमदान गराउने जानकारी झाँक्रीले दिए । उनले यसपछि बिस्तारै देशैभर पार्टीका कार्यालय निर्माण कार्यलाई तीव्रता दिनेसमेत बताए ।

‘आठौँ महाधिवेशनमा हामीले पार्टी र आन्दोलनमा लाग्नेको संरक्षणका लागि सहजीकरण गर्न देशैभरका सम्पूर्ण गाविसमा भवन निर्माणको योजना बनाएका थियौँ । त्यसैअनुसार थप कामसमेत अगाडि बढाउने योजना पार्टीले गरेको छ,’ उनले भने ।