मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

मुख्यमन्त्रीमा कांग्रेसका पोख्रेल प्रस्तावित

काठमाडौँ,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।बिहीबार प्रदेश सभा सचिवालयमा पुगेर प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्तावसमेत गरिएको छ।बुधबार राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकीलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको राजनीतिमा तरंग आएको थियो । अविश्वासको प्रस्ताव आउने निश्चित भएसँगै बुधबार राति नै मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरिसकेका छन्।

त्यसका बाबजुद पनि अविश्वास प्रस्ताव दर्ता गरिएको छ।दर्ता भएको अविश्वास प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर भने गरेका छैनन् । तर, प्रस्तावमा जनमोर्चाले समर्थन गर्ने सहमति भइसकेको स्रोतको भनाई छ।गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । जसमा एमालेको २८ जना सांसद छन्। एमालेभित्र पनि ओली र माधव नेपाल पक्षबीच विवाद जारी छ। कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।