जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारको समर्थन

काठमाडौँ,राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई साथ नदिने भएको छ।बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई गण्डकी सरकारले साथ दिएको भन्दै मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय भएको केसीले जानकारी दिएका हुन्।

‘केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरूमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेका सरकारहरूलाई समर्थन कायमै राखेका थियौँ’ अध्यक्ष केसीको वक्तव्यमा भनिएको छ, ‘त्यसको अर्थ हामीले वामपन्थीको सरकारमा जोड दिएका हौँ। गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ।’

योसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको छ । नेकपा माओवादी केन्द्रले यसअघि नै आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाइसकेको छ । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्। जसमा एमालेको २८ जना सांसद छ। एकल बहुमतका लागि ३ सिट अपुग छ। एमालेभित्र पनि ओली र माधव नेपाल पक्षबीच विवाद छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।