समानान्तर कमिटी बनाउने दुई नेतालाई कारबाही

धनकुटा,नेकपा एमाले जिल्ला कमिटी धनकुटाले पार्टी विरोधी क्रियाकलाप गरेको भन्दै दुई जना नेतालाई कारबाही गरेको छ। बैठकले पार्टी हित विपरित विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै नेपाल–खनाल पक्षका नेताहरू अर्जुन राई र खगेन्द्र सुवेदीलाई पार्टीको साधारण सदस्य नरहने गरि कारबाही गरेको हो।

एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ‘नेपाल कम्युनिष्ट पार्टी एमालेसँग समानान्तर कमिटी गठन गर्ने अर्जुन राई र खगेन्द्र सुवेदीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्काशन गर्ने र प्रत्यक्ष वा परोक्ष रुपमा समानान्तर कमिटीलाई सहयोग गर्नेहरुको पहिचान गरि स्पष्टिकरण सोध्ने निर्णय गरियो।’एमालेको विवाद उत्कर्षमा पुगेर देशभर समानान्तर कमिटी बनिरहेका बेला धनकुटामा पनि केहि दिनअघि माधव नेपाल–झलनाथ खनाल पक्षले अर्जुन राई अध्यक्ष र खगेन्द्र सुवेदी सचिव रहेको एक सय एक सदस्यीय समानान्तर कमिटी गठन गरेको थियो।

कारबाही गरिएका भनिएका राईले हारको मानसिकताले गरेको कारबाहीले अर्थ नराख्ने प्रतिक्रिया दिए। उनले ओली पक्षमा लागेकाहरूमा कम्युनिष्ट विधी, पद्धतीको अलिकति पनि जानकारी नभएकाले उनीहरू कम्युनिष्ट नै नभएको आरोप लगाए।उनले ओली पक्षका नेताले सार्वजनिक रुपमै आफूहरूसँग कम्युनिष्ट पार्टी, विधी, प्रणाली, लोकतन्त्र, कम्युनिष्ट आन्दोलनको बारेमा बहस गरेर कारबाही गरेर देखाउन चुनौती दिए। उनले यो विषयमा ओली पक्षका धनकुटा अध्यक्ष राजेन्द्र राईसँग आफू बहस गर्न तयार रहेको पनि बताए।