सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं,सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ।सर्वोच्चका न्यायाधीश तेजकुमार केसीको एकल इजलासले सुवेदीमाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको हो।

न्यायपरिषद्ले गत २८ फागुनमा उच्च अदालतका दुई मुख्य न्यायाधीश नहकुल सुवेदी र कुमार चुडाललाई सर्वोच्चको स्थायी न्यायाधीशमा सिफारिस गरेको थियो।उनीहरूको संसदीय सुनुवाइ आगामी ३ वैशाखका लागि तोकिएको छ। मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले संसदीय सुनुवाइ समितिले आगामी ३ वैशाखका लागि सुनुवाइ तोकेको हो । सुवेदी विषयमा संसदीय सुनुवाइमा समेत योग्यता प्रश्न उठाउँदै उजुरी परे पनि अब सर्वोच्चले मुद्दा खारेज गरेसँगै संसदीय सुनुवाइलाई उनको विषयमा निर्णय लिन सहज भएको छ।

सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुग्ने भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । समितिमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले उजुरी दिएका थिए। समितिमा सुवेदीको पाँच वर्ष मुख्य न्यायाधीश हुनुपर्ने योग्यता नपुगेको र चुडालले नक्कली भ्याट बिललगायत मुद्दामा त्रुटिपूर्ण फैसला गरेको उजुरीमा दाबी गरिएको थियो।

न्यायाधीश सुवेदीको योग्यता विषयमा प्रश्न उठाउँदै अधिवक्ता दिनेश श्रेष्ठले न्यायाधीश हुन उनीसँग संविधानको धारा १२९ (५)ले तोकेका चारमध्ये कुनै पनि योग्यता नभएकोसहित सर्वोच्चमा रिट र सुनुवाइ समितिमा उजुरी हालेका थिए। यो समाचार आजको राजधानी दैनिकमा छ।