कांग्रेस केन्द्रीय कमिटी बैठक बस्दै

महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी

काठमाडौँ,नेपाली कांग्रेसको केन्द्रीय कार्यकमिटी बैठक बस्दैछ।बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको छ। यसअघि शुक्रबारका लाागि बोलाइएको बैठक आजका लागि सारिएको थियो।

आजको बैठकमा पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल र पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि थप्‍न‍ प्रस्ताव पेस गर्ने तयारी रहेको एक नेताले जानकारी दिए । यसअघि जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची चैत ३० गतेसम्म केन्द्रमा पठाउने अवधि तोकिएपनि उक्त समयमा सम्भव नभएपछि अवधि थप्‍न लागिएको हो।

हालसम्म ५० जिल्लाले मात्रै क्रियाशील सदस्यको नवीकरण भएको र नयाँ वितरण गरिएको विवरण केन्द्रीय कार्यालयले बनाएको अनलाइन प्रणालीमा पठाउन सुरु गरेका छन् । सोलुखुम्बु, सप्तरी, सिराहा, बारा, रौतहट, सिन्धुपाल्चोक, बर्दिया, डोटी र कैलालीले भने विवरण पठाउन सुरु नै गरेका छैनन्।

यससँगै प्रभावित बनेको महाधिवेशनको आन्तरिक कार्यतालिकालाई कांग्रेसले हेरफेर गर्ने भएको हो । कांग्रेसले यसअघि नै आगामी भदौ ७ गतेदेखि १० गतेसम्म आफ्नो १४औं महाधिवेशनका लागि कार्यतालिका तय गरेको थियो ।