आइपिएलमा कोलकाताको विजयी सुरुवात

काठमाडौँ,कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो। जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रनमै समेटियो।

हैदराबादका लागि मनिष पाण्डे र जोनी बेयरस्टोले अर्धशतकिय इनिंग्सको योगदान गरे। मनिष ६१ रनमा अविजित रहँदा बेयरस्टोले ५५ रन बनाए।यस्तै, अब्दुल सामद १९ रनमा अविजित रहे भने मोहम्मद नाबी १४ र विजय शंकर ११ रनमा आउट भए । बलिङमा कोलकाताका प्रसिद्ध कृष्णाले २ विकेट लिए भने आन्द्रे रसेल, सकिब अल हसन र प्याट कमिन्सले १–१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो। कोलकाताका लागि नितेश रानाले सर्वाधिक ८० रनको योगदान दिए। यस्तै, राहुल त्रिपाठीले ५३ रन बनाउँदा दिनेश कात्तिक २२ रनमा अविजित रहे।बलिङमा हैदराबादका मोहम्मद नाबी र राशिद खानले समान २र२ विकेट लिए । टि नटराजन र भुवनेश्वर कुमारको नाममा १–१ विकेट रह्यो।