प्रदेश २ मा एमालेको बहुमतले संसदीय दलको नेता परिवर्तन

जनकपुर,प्रदेश २ मा नेकपा एमाले संसदीय दलको बहुमत सदस्यको बैठकले संसदीय दलको नेता परिवर्तन गरेको छ।प्रदेश २ को प्रदेशसभामा रहेका एमालेका २१ सांसदमध्ये आइतबार १३ सांसद उपस्थित बैठकले मण्डललाई हटाएर शत्रुधन महतोलाई संसदीय दलको नेतामा चयन गरेको हो।

आइतबारको बैठकमा सहभागी हुने सांसदहरु माधव नेपाल समूहका हुन्।सांसद बेचु लुंगेलीका अनुसार दलको उपनेतामा रवीन्द्र बैठा चयन भएका छन्। यस्तै, सुन्दरबहादुर विश्वकर्मालाई प्रमुख सचेतक र लुंगेलीलाई सचेतकमा राखिएको छ।यी दुबै यसअघि पनि यही पदमा रहेका थिए।तत्कालिन एमाले र माओवादी मिलेर नेकपा गठन बनेपछि संसदीय दलको नेतामा मण्डल नै थिए।

तर, ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि प्रचण्ड–माधव समूहले मण्डललाई नेताबाट हटाएर महतोलाई नै नेता बनाएको थियो।सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्र दुबै दललाई पुरानै अवस्थामा फर्किने फैसला सुनाएपछि एमालेको बहुमत सदस्यको बैठकले संसदीय दलको नेतामा महतोलाई चयन गरेको हो।नेकपा माओवादी केन्द्रले यसअघि नै भरत साहलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ।