अधिकारी हत्याका अभियुक्तलाई उच्च अदालतबाट सफाइ

हेटौंडा,सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नको अभियोग लागेकाहरुले उच्च अदालतबाट सफाइ पाएका छन्।

उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले अधिकारी हत्याको अभियोग लागेका १२ जनालाई सफाइ दिने चितवन जिल्ला अदालतकै फैसलालाई सदर गरेको हेटौंडा इजलासका उपरजिस्ट्रार कैलाश भट्टराईले बताए।

२०६१ जेठ २४ गते गोरखा फुजेलका मुक्तिनाथ र गंगामाया अधिकारीका कान्छा छोरा १७ वर्षका कृष्णप्रसादको तत्कालिन माओवादीले हत्या गरेको थियो।उनको हत्या आरोपमा २०७० चैत ३० गते छिमेकी छविलाल पौडेल, भीष्मराज पौडेल, रामप्रसाद अधिकारीसहित १२ जनाविरुद्ध मुद्दा चलाइएको थियो । उनीहरुलाई जिल्ला अदालत चितवनले २४ भदौ २०७५ मा सफाइ दिएको थियो।

त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो।कृष्णप्रसादकी आमा गंगामाया छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै हाल वीर अस्पतालमा अनशनरत छिन्।यही माग राखेर अनशन बसेका बाबु मुक्तिनाथको भने २०७१ असोज ६ गते अनशनकै क्रममा मृत्यु भएको थियो ।