समानान्तर कमिटीमा लागेकालाई चुनावमा टिकट पक्काः माधव नेपाल

वीरगञ्ज,नेकपा एमालेबाट निलम्बित भएपछि समानान्तर कमिटी गठन अभियानमा रहेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेता कार्यकर्तालाई आउने चुनावमा टिकटको ग्यारेन्टी गरेका छन्।वीरगञ्जमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले संकटको बेला साथ दिएकाहरूलाई टिकट दिइने बताएका हुन्।

नेपाल पक्षले शनिवार वीरगञ्जमा भेला गरी बालगोपाल थापाको अध्यक्षतामा एमालेको पर्सा जिल्ला समानान्तर कमिटी गठन गरेको छ।नेता नेपालले निर्वाचन आयोगले एमालेको आधिकारिकता केपी ओलीलाई दिए पनि कार्यकर्ताले निराश हुनु नपर्ने र चुनावमा टिकट नपाइएला कि भन्न चिन्ता नलिन आग्रह गरे।उनले अहिले पनि एमाले पार्टी एउटै रहेको र केपी ओलीले आफूहरुमाथि गरेको कारबाही अवैधानिक छ भनेर निर्वाचन आयोगलाई आफूहरुले ओलीका निर्णय बदर गर्नका लागि पत्र बुझाएको बताए।

नेता नेपालले नेकपा एमाले र माओवादी केन्द्रलाई ३ वर्षअघिकै अवस्थामा फर्काइदिने सर्वोच्च अदालतको फैसला विचित्रको भन्दै जन्मिसकेको बच्चालाई आमाको गर्भमा फर्काइदिएको बताए।फागुन २३ अघिनै निर्वाचन आयोगले नेकपाको आधिकारिकता आफूहरुलाई दिएको भए एमाले ब्युँतिए पनि अर्थहीन हुने नेपालको भनाइ थियो।आयोगले बेलैमा निर्णय नदिएर आफूहरुमाथि अन्याय गरेको नेपालले बताए।

नेपालले निर्वाचन आयोगले एमाले भइसकेपछि ओलीले गरेका निर्णयविरुद्ध आफूहरुले उजुरी दिदा समेत कुनै निर्णय नगरेकोमा आपत्ति समेत जनाएका छन्।नेपालले भने,‘पार्टीको कामकारवाहीको विषयमा कुन निर्णय ठिक छ,कुन बेठिक छ भन्ने बारेमा निर्णय गर्ने निर्वाचन आयोग छ।तर अहिलेसम्म कुनै निर्णय आएको छैन। के भन्ने ? कहाँ गएर उजुरी गर्ने ?