लहानमा सुनचाँदी व्यवसायीको हत्या

दुईजना पक्राउ

जनकपुर,सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या भएको छ। लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरेका हुन्।

प्रहरीका अनुसार शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिले ४५ वर्षीय मिझारको हत्या गरेका थिए।टाउको,अनुहार र हातमा खुकुरीले प्रहार गरी छातीमा गोलीसमेत प्रहार गर्दा मिझार गम्भीर घाइते भएका थिए । उनलाई तत्काल लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिए पनि मृत्यु भएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले वताए।

लुटेरा समूहले मृतककी श्रीमती ३५ वर्षीया अनिता कुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहार गरी घाइते बनाएका छन्। उनको पनि सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।लहान नगरपालिका वडानम्बर २३ स्थित वडा अध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा डेरा लिई मिझार दम्पती सुनचाँदी व्यवसायी गर्दै आएका थिए।

घरको पछाडि पट्टीको भागबाट भर्‍याङ लगाइ घरको छतमा चढी छतबाट छतको ढोका प्रयोग गरी भुईँ तल्लामा झरेर फलामको हम्मर र फलामको छिनोले ढोका फोडेर ६र७ जना लुटेरा समूहभित्र प्रवेश गरेका थिए । घरभित्र प्रवेश गरेका उनीहरुको प्रतिकार गर्ने क्रममा सुनचाँदी व्यवसायीको हत्या भएको प्रहरीले जनाएको छ।

दुई जना पक्राउ

घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

घटनामा संलग्नमध्येका जिल्ला सिरहा लहान नगरपालिका ७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाटै फलामको छिनोसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता शर्माले बताए।

यस्तै, लहान नगरपालिका २३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई बिहान ४ बजेर ३० मिनेटमा पक्राउ गरिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।