गैँडा गणना कार्य सकियो

आजै नतिजा सार्वजनिक गरिने

काठमाडौ,गैँडा गणना कार्य सकिएको छ। यही चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना कार्यक्रम शुक्रबार सकिएको हो।चितवन राष्ट्रिय निकुञ्जकोसमेत शुक्रबार नै गणना सकिएकाले आज शनिबार नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

नतिजा दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भएको छ । यसपटक ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक गैडा गणनामा खटिएका थिए।हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ। तर, कोरोना महामारीका कारण यसपटक एक वर्ष ढिला भएको हो।यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक-एक गरी गैँडा गनेका छन्।

गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो।गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए।तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए।

यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको थियो।गैँडा गणनाका क्रममा बर्दियामा एकजना गणकमाथि बाघले आग्रमण गर्दा मृत्युसमेत भएको थियो।