सिलाई पेशा की व्यवसाय ?

सिलाई:

सिलाई भन्ने बित्तिकै सियो र धागोको सहायताले कुनै पनि वस्तुलाई जोड्नु अथवा बाध्नु भन्ने बुझिन्छ।सामान्यतः यो काम गर्न सियो र धागोको आवश्यकता पर्दछ, तर छिटो ,राम्रो ,शक्ति तथा श्रमको न्यून प्रयोग र सामग्रीआकर्षक बनाउन प्रविधिको प्रयोग गर्दै विभिन्न मेशिनहरुको आविष्कार भएको छ भने सबैमा सियो धागो भने प्रयोग हुन्छ नै। गास ,बास र कपास मध्ये कपास को लागि सिलाई नभई नहुने अपरिहार्य कुरा हो।त्यसैले सिलाई मानव जीवनको अत्यावश्यक काम मध्ये एक हो। हाम्रो शरीर तथा विभिन्न अंगहरूलाई सुरक्षा प्रदान देखि आकर्षक देखाउन सिलाई ले अहम् भूमिका खेल्ने गर्दछ। सिलाई काम गर्ने लाई सिलाई पेशाकर्मी भनिन्छ भने नेपालमा यो पेशा दुइटा जातले गर्ने गर्दछन् दमाई र सार्की। सार्कीले जुत्ता सिलाउँछ भने दमाईले लुगा सिलाउने गर्दछ। त्यसैले लुगा सिलाउने पेशालाई दमाई पेशा र जुत्ता सिलाउने लाई सर्को पेशा भनेको सुन्ने गरिन्छ।

पेशा :

सामान्यतया मानिसले जीवन निर्वाह गर्नको लागि गर्ने निरन्तर गर्ने काम नै पेशा हो। पेशा कुनै औपचारिक शिक्षाबाट प्राप्त हुन्छ त कति निरन्तरको कार्य अनुभवबाट प्राप्त हुन्छ। कुनै पनि कामलाई दक्षता को साथ निरन्तर श्रम गर्नु पेशा हो। पेशा हुनको लागि सम्बन्धित काममा दक्षता चाहिन्छ , श्रम लागेको हुनु पर्दछ , लामो समय लगानी भएको हुनु पर्दछ। पेशा आफैमा आम्दानीको स्रोत नभए पनि पेशाको प्रयोगले आम्दानी बढाउन सक्छ। पेशामा व्यक्तिले लगाएको समय आधारमा प्रतिफल मात्र प्राप्त गर्दछ । जस्तो एउटा कोट सिलाउने मानिसले कति समय सम्म आफ्नो श्रम लाग्यो त्यही आधारमा मूल्य निर्धारण हुने गर्दछ ,तर यहाँ निर्धारण को कारक उत्पादित वस्तुमा गणना हुने गर्दछ। जस्तो कुनै पनि मानिसले कुनै वस्तु बनाउन कति समयमा बनाउने भन्दा कतिवटा बनायो भनेर आधार तय हुन्छ। पेशाले स्वरोजगार बनाउँछ ।

नेपालको परिप्रेक्षमा सिलाई पेशा निश्चित जातको नाममा भएको इतिहास बाट पुष्टि हुने गर्दछ। यही पेशाको कारण नै एउटा समुदाय समाजको पिधमा पनि पर्ने गरेको छ। सार्की र दमाई जात सिलाई पेशा गर्ने गर्दछन्।अन्य देशमा थाहा भएन तर हाम्रो देशमा हरेक पेशाको जात छ। सामान्यतया काम वा पेशाको जात हुँदैन भनिन्छ तर नेपालमा पेशाको जात छ, किन कि हरेक पेशाले नै जात जन्माएको हो। अब त्यही जातले पेशाको रोयल्टी पनि लिनु पर्दछ।

व्यवसाय:

सामान्य अर्थमा नाफा कमाउने उद्देश्यले निरन्तर गरिने कुनै पनि आर्थिक क्रियाकलाप नै व्यवसाय हो। तर यसमा कुनै पनि देशको कानुनले वर्जित गरेको क्रियाकलाप भने पर्दैन। व्यवसायका धेरै उद्देश्यहरू हुन्छन तर ती मध्ये मुख्य भनेको नाफा आर्जन गर्नु नै हो।
व्यवसायले रोजगारीको सिर्जना गर्दछ। व्यवसाय हुनको लागि आर्थिक, सामाजिक, राष्ट्रिय र मानवीय उद्देश्य बोकेको हुनु पर्दछ।आर्थिक क्रियाकलाप, वस्तु तथा सेवाको कारोबार,कारोबारमा निरन्तरता तथा नियमितता ,नाफा उन्मुख, जोखिम तथा अनिश्चितता र उपभोक्ता सन्तुष्टि जस्ता विशेषता बोकेको हुनु पर्दछ।

सिलाई पेशा की व्यवसाय ?

धेरैलाई लाग्छ की सिलाई व्यवसाय हो , तर सिलाई आफैमा व्यवसाय हैन । जबसम्म सिलाई सङ्ग कपडा जोडिँदैन त्यतिबेला सम्म सिलाई पेशा मात्र हो। त्यसैले पनि हो सिलाई काम गर्ने कुनै पनि दमाईलाई व्यवसायी भनेर सम्बोधन गरिँदैन, आफ्नो पेशा गरेको नै भनिन्छ भने त्यही अन्य समुदायको मानिसले सानो भए पनि कपडा पसल गर्दा व्यवसायी भनिन्छ। सार्कीले जुत्ताको उद्योग नै चलाए पनि आफ्नो पेशा गरेको भनिन्छ , दमाईले कपडाको उद्योग चलाउँदा पनि पेशा गरेको नै भनिन्छ । किन कि त्यो उनीहरूको जातको काम हो, यही समाज व्यवस्थाको कानुनले भन्ने गर्दछ।

नेपालमा अन्य समुदायलाई राज्य व्यवस्थाको कानुन लाग्ने गर्दछ भने श्रमिक पेशेवर हरुलाई समाज व्यवस्थाको कानुन लाग्ने गर्दछ जुन सायद वि. सं. १९१० को मुलुकी ऐनमा आधारित छ।

सिलाई र कपडा आफैमा परिपूरक हुन् ,तर दुर्भाग्य भन्नु पर्छ सबै भन्दा सिलाई पेशाकर्मी लाई सबै भन्दा धेरै शोषण गरेको कोही छ भने कपडा व्यवसाय नै हो। कपडा व्यवसायले सिलाई पेशालाई यसरी आफ्नो नियन्त्रणमा राखेको छ कि अब सिलाई पेशा कपडा व्यवसाय बाट बाहिर निस्क्यो भने त्यो पेशा बाट विस्थापित नै हुने अवस्था छ। त्यसकै पदार्पण हो नेपालमा अधिकांश बाहिरी मुलुकका कालिगढ तथा स्वरोजगारको संख्यामा वृद्धि हुनु।

कपडा व्यवसायीले आफ्नो व्यवसायलाई नियन्त्रणमा राख्न नसक्दा त्यसको मारमा सिलाई पेशा परेको छ। सिलाई पेशा मजदुर सङ्ग सम्बन्धित छ भने कपडा व्यवसाय साहु वा लगानी कर्तासङ्ग सम्बन्धित रहेको छ । व्यवसायीको पहिलो प्राथमिकता नाफा आर्जन गर्नु हो, मजदुरको प्राथमिकता पारिश्रमिक वृद्धि, व्यवसायको मुनाफा वृद्धि गर्न लागत घटाउनु पर्दछ, कपडा व्यवसायीले चलाउन सक्ने लागत भनेको नै सिलाई पेशाकर्मी लाई दिने ज्याला हो ,किनकि यो भनेको आम्दानी सङ्गै देखिने खर्च पनि हो। जस्तो एउटा कोट तयार पार्दा अन्य सामग्रीमा उत्पादन गर्नु पूर्व खर्च हुन्छ। तर कालिगढ लाई आफ्नो खल्तीमा आए पछि दिनु पर्ने हुन्छ। त्यसो हुँदा व्यवसायीले आफ्नो नै दिएको महशुस गर्दछ। तर यथार्थ त्यो हैन ग्राहक बाट लिएर दिएको हुन्छ।

कपडा व्यवसायीको हकमा हुनु भनेको सिलाई पेशाकर्मी विरोधमा हुनु जस्तै देखिन्छ।यथार्थमा एक सिक्काका दुई पाटा जस्ता दुई पेशा र व्यवसाय हुन। कपडा व्यवसायिहरुले नाफा आर्जन गर्नुको प्रमुख कारण भनेको नै सिलाई पेशा वा सिलाई पेशा कर्मी हुन, तर त्यही पेशाकर्मी हरुलाई त्यति राम्रो नजरले हेरेको वा उनीहरूको हक हितमा केही खास योजना बनाएको देख्न सकिन्न , बरु सके जति शोषणमा राख्न खोजेको देखिन्छ। त्यसकै उपज पनि हो नेपालमा नेपाली कालिगढ नभेटिनु।

केही सीमित स्वार्थ केन्द्रित व्यक्तिको नियन्त्रणमा रहेको यो व्यवसाय र पेशा जब सम्म ती व्यक्तिको चंगुल बाट निस्कँदैन , पेशा र व्यवासाय त बर्बाद हुन्छ नै समग्र देशको उत्पादकत्वमा पनि ठूलो नोक्सानी हुने कुरामा कुनै द्विविधा छैन।