यी निःशुल्क नम्बरमार्फत लिनुहोस टेलिकमको सेवा

काठमाडौं, अब विभिन्न नम्बरहरु डायल गरी नेपाल टेलिकमका सेवाबारे जानकारी लिन तथा गुनासा राख्न सकिने भएको छ।कम्पनीले उपलब्ध गराएको १९१, १९७, १९८ र १४९८ नम्बरहरु मार्फत टेलिकमका विभिन्न सेवाबारे बुझ्न र गुनासा टिपाउन सकिने भएको हो।

सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि उपलब्ध गराइएका यी नम्बरहरु ग्राहककै सहजताका लागि निःशुल्क गरिएको टेलिकमले जनाएको छ।

उपलब्ध नम्बर मध्ये कस्टमर केयर सेवा जीएसएम, सीडीएमए र वाइम्याक्स सेवाका बारेमा जानकारी लिन १९१ नम्बर डायल गर्न सकिन्छ।

१९१ नम्बर डायल गरेपछि प्राप्त निर्देशन अनुसार जीएसएमको लागि अंक १, सीडीएमएको लागि अंक २ र वाइम्याक्सका लागि अंक ३ थिच्नुपर्छ। त्यसपछि सम्बन्धित सेवाका बारेमा जिज्ञासा राख्न र गुनासो टिपाउन सकिन्छ।

त्यस्तै १९७ मा डायल गरी नेपाल टेलिकमको ल्यान्डलाइन अर्थात स्थानीय टेलिफोनको नम्बर थाहा पाउन सकिन्छ। १९७ मा डायल गरेपछि अपरेटरले ग्राहकले खोजेको व्यक्ति वा संस्थाको टेलिफोन नम्बर टेलिफोनबाटै उपलब्ध गराउँछ।

नेपाल टेलिकमका सेवाहरुका बारेमा गुनासो टिपाउनका लागि १९८ नम्बरमा डायल गर्न सकिन्छ। नेपाल टेलिकमले सञ्चालन गरिरहेको तारवाला स्थानीय टेलिफोन, एडीएसएल, भिस्याट टेलिफोन, फाइबर टु द होम (एफटीटीएच) र लिज लाइन मर्मतका लागि यसको प्रयोग गर्न सकिन्छ।

१९८ नम्बरमा कल गरेपछि स्वचालित सिस्टमबाट प्राप्त निर्देशन अनुसार टेलिफोन कम्प्लेनको लागि अंक १, एडीएसएल कम्प्लेनको लागि अंक २, भिस्याट कम्प्लेनको लागि अंक ३, एफटीटीएच कम्प्लेनको लागि अंक ४ र लिज लाइन कम्प्लेनको लागि अंक ५ थिच्नुपर्छ ।

त्यसपछि दिइएको निर्देशनअनुसार मर्मत गर्नुपर्ने नम्बर उपलब्ध गराएपछि कम्पनीको तर्फबाट मर्मत कार्यको प्रक्रिया अगाडि बढ्छ ।

मोबाइल र वाइम्याक्स सेवाबारे जानकारी लिनका लागि १४९८ मा फोन गर्न सकिन्छ ।

मोबाइल तथा वाइम्याक्स सेवा सम्बन्धी कुनै जिज्ञासा वा गुनासो मात्र नभई सेवा प्रयोगका बारेमा कुनै जानकारी प्राप्त गर्नुपरेमा पनि यस नम्बरमा कल गर्न सकिन्छ।

यसका साथै नेपाल टेलिकमको कम्पनीको वेभसाइट, नेपाल टेलिकम एप, कम्पनीको फेसबुक, ट्विटरलगायतका विभिन्न सामाजिक सञ्जालहरुबाट पनि कम्पनीका सेवाहरुका बारेमा आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ ।