जसपालाई माग पूरा गर्न सरकार फारम भर्न लगाउँदै

काठमाडौँ,जनता समाजवादी पार्टी नेपालले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो।

जसपाका अनुसार सरकारले मधेस आन्दोलनका क्रममा बन्दी बनाइएकाको मुद्दा कहिले र कहाँ दर्ता भएको हो र हाल ती मुद्दाको अवस्था कस्तो छ भन्ने यकिन विवरण निकाल्न फारम भर्न लगाएको छ। फारम भर्न लगाउनुको अर्थ आफ्नो पार्टीद्वारा अघि सारिएका माग पूरा हुने परिस्थिति सिर्जना हुन लागेको जसपा नेता एवम् कार्यदल सदस्य लक्ष्मणलाल कर्णले बताएका छन्।

जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ । कार्यविधि पास भएसँगै जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फारम भर्न लगाइएको हो।