भक्तपुरको बिस्केट जात्रामा रोक

काठमाडौं,कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्षपनि रोक लगाएको छ।स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले लिंगो ठड्याउने र रथ तान्ने काम गर्न रोक लगाइएको जानकारी दिए।उनले अनलाइनखबरसँग भने, ‘रथको पूजा गर्न पाउने तर लिंगो उठाउने र रथ तान्ने काम नगर्ने निर्णय भएको छ।’प्यागोडा शैलीको तीनतले अग्लो भैरवको रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो। बिस्केट जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ।

सो भिडले कोभिड–१९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकाले यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्ने र लिंगो ठड्याउने काम गत वर्षजस्तै नगर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।गत वर्ष पनि कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले बिस्केट जात्रामा रोक लगाएको थियो । आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ।