ओलीले वामदेवलाई हराएका हुन्ः माधव नेपाल

काठमाडौँ,पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अध्यक्ष केपी शर्मा ओली समूह लागिपरेको बताएका छन्।नेता नेपालले आइतबार एमाले काठमााडौं जिल्ला समानान्तर कमिटी गठन गर्ने क्रममा गत निर्वाचनमा ओली समूहले वामदेव गौतम र आफूलाई हराउन कोसिस गरेको बताएका हुन्।

‘वामदेवजी र मलाई हराउन कोसिस गरेका थिए, वामदेवजीलाई भने हराए नै’, नेपालले भने। ओली पूर्वाग्रही भएको पनि नेपालले बताए।नेता नेपालले पार्टीभित्र पहिलादेखि नै गुट चलाउँदै आएका ओलीले कुनै दिन कम्युनिस्ट आन्दोलन विघटन गर्न सक्ने बताए। उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीका हर्कतले यस्तै संकेत गरेको बताए। ‘ओलीले एक दिन कम्युनिस्ट पार्टी नै विघटन गरिदिएँ भन्न सक्छन्’, नेपालले भने।

उनले ओलीको तानाशाही प्रवृत्तिविरुद्ध आफूहरू चुप नलाग्नेसमेत बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भर्याङ बनाएर ओली प्रधानमन्त्री भएको नेपालको भनाइ थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।