देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा नियमित पठनपाठन

सिमकोट,बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहेपनि हुम्लाको नाम्खा गाउँपालिका भरिका विद्यालयमा नियमित पठनपाठन भइरहेको छ।

तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालय सञ्चालन राख्ने जनाएको हो। तुँवालोको प्रभाव खासै नदेखिएपछि पठनपाठन जारी राख्ने निर्णयमा गाउँपालिका पुगेको गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताएका छन्।प्रदूषणको प्रभाव नभएपछि विद्यालय बन्द नगरी पढाइ सञ्चालनमा राख्न गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयलाई निर्देशन दिएको थियो।

नाम्खा गाउँपालिकामा एउटा माध्यमिक र १५ आधारभूत विद्यालय रहेका छन्।कोरोना कहरको लामो समयपछि गत फागुन १ गतेबाट गाउँपालिकाका विद्यालयमा पठनपाठन शुरु भएको थियो । यता सोही गाउँपालिका–६ को लिमीका दुईवटा विद्यालयमा भने कोरोना कहरको समयमा समेत नियमित पठनपाठन जारी थियो।