कप्तान विराज महर्जनले गरे सन्न्यासको घोषणा

काठमाडौँ,सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन्न्यासको घोषणा गरेका हुन्।

उपाधि जितेको नेपाललाई खुसीसँगै विराजको सन्न्यासले केही भावुक भने वनाएको थियो।अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याच विराज महर्जनले सोमबार ७३औँ अन्तर्राष्ट्रिय खेल करिअर खेल्दै सन्न्यासको घोषणा गरेका छन्। दशरथ रंगशालामा सोमबार त्रिदेशीय कप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशको टोलीलाई २–१ ले हराउँदै उपाधि दिलाएसँगै विराजले सन्न्यासको घोषणा गरेका हुन्।अन्तिमपटक दशरथ रंगशालामा राष्ट्रिय जर्सीमा देखिएका विराजलाई समर्थकले सम्मान दिएका थिए।

डेढवर्षे अन्तर्राष्ट्रिय गोलविहीन नेपाली फुटबलको यात्रालाई पूर्णविराम लगाउँदै नेपालले ३७ वर्षपछि नेपाली मैदानमा अन्तर्राष्ट्रिय उपाधि उचाल्दा विराजलाई सुखद अन्त्यको सुनौलो अवसर पनि मिल्यो । उपाधि उचाल्दै फुटबल करिअरलाई अन्त्य गर्न पाउँदा विराज खुसी सँगै भावुक पनि भएका थिए।