एमाले खोटाङमा अन्तर्द्वन्द्व

खोटाङ,नेकपा एमाले खोटाङमा गठन गरिएको समानान्तर कमिटीको गतिविधि सतहमै देखिन थालेको छ। सर्वोच्च अदालतले साबिकको एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि माओवादी केन्द्र एक ढिक्का भएर अघि बढ्दा एमालेमा भने समानान्तर कमिटीको गतिविधि बाक्लो हुन थालेको छ।एमाले जिल्ला कमिटी खोटाङको अध्यक्षको हैसियतमा बबि चाम्लिङले जिल्ला कमिटीको बैठक बोलाएकोप्रति अर्का अध्यक्ष रामप्रसाद दंगालले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

अध्यक्ष दंगालले विज्ञप्ति जारी गर्दै नेकपा एमाले जिल्ला कमिटीको अस्तित्व समाप्त पार्ने, कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले पार्टीको विद्यानविपरीत कुनै भेला, सम्मेलन वा बैठकको आयोजना नगर्न र पार्टीलाई कमजोर बनाउने गतिविधिमा संलग्न नहुन सचेत गराएका छन्।अध्यक्ष चाम्लिङको अध्यक्षतामा शुक्रबार दिक्तेलमा बसेको बैठकले ६७ सदस्यीय जिल्ला कमिटी विस्तार गरेपछि अर्का अध्यक्ष दंगालले आपत्ति जनाएका हुन्।

‘पार्टीमा गुटबन्दी गर्ने, अन्य पार्टीको इसारामा आफ्नो पार्टी, पद्धति, आन्दोलनलाई ध्वस्त पार्ने प्रयत्न पार्टी पद्धतिको गम्भीर उल्लंघन हो भन्ने हाम्रो ठहर छ,’ दंगालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गविविधिहरूमा संलग्न नहुन पार्टीका सबै नेता–कार्यकर्तालाई पार्टी कमिटी अनुरोध गर्दछ।’पार्टीको विधि र पद्धतिविपरीत गतिविधि जारी राखे पार्टीको विधानबमोजिम अघि बढ्ने विज्ञप्तिमा जनाइएको छ।

सर्वोच्च अदालतले साबिकको एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि गत फागुन २५ गते एमालेका तत्कालीन उपाध्यक्ष दंगाललाई एक पक्षले जिल्ला अध्यक्षमा मनोनयन गरे पनि तत्कालीन अध्यक्ष चाम्लिङले सो निर्णय अस्वीकार गर्दै आएका छन्।एमाले ब्युँतिएको अवस्थामा हालसम्म पदबाट राजीनामा नदिएको र हालसम्म कुनै पनि जिल्ला अधिवेशन नभएकाले आधिकारिक अध्यक्ष आफैँ रहेको दाबी गर्दै आएका चाम्लिङको अध्यक्षतामा बसेको बैठकले एमाले जिल्ला कमिटी उपाध्यक्षमा बम खत्री, सचिवमा जलसेर राई, उपसचिवमा अकिल राई र आर्थिक विभाग प्रमुखमा राजनप्रसाद आचार्यलाई चयन गरेको सार्वजनिक भएको थियो।