चीनले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौँ,चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाज चीनको राजधानी बेइजिङबाट उक्त परिमाणको कोरोना खोप लिएर सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उक्त जहाज आइतबार साँझ बेइजिङ उडेको थियो।

चीनले उपलब्ध गराएको उक्त खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्। चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको उक्त खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्दछ।

चीनले गत माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि पछि थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसपछि यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।