जोशीको निधनमा १७ गते काँग्रेस पार्टी कार्यालय बन्द

काठमाडौँ,नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा १७ गते देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ।शनिबार बिहान सानेपामा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले स्व जोशीको सम्मानमा १७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय समेत गरेको छ।बैठकले जोशीको निधनको शोक प्रस्ताव पनि पारित गरेको छ।गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिकको भेन्टिलेटरमा उपचाररत जोशीको शुक्रबार साँझ ८ः ३० बजे निधन भएको हो । अन्तिम श्रद्धाञ्जलीको लागि जोशीको पार्थिव शरीर दिउँसो २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने छ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।