वायु प्रदूषणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

काठमाडौं,काठमाडौं उपत्यकामा हिजोदेखि लागेको तुवाँलो अझै हट्न सकिरहेको छैन। तुँवालोका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएका छन्।शनिबार बिहान उपत्यकाको भिजिविलिटी एक किलोमिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले वताएको छ।

भिजिविलिटी कम हुँदा बिहान मलेसियाबाट आएको विमान अवतरण गर्न नसकेर भारतको वारणासी डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।अहिले दुबईबाट आएको हिमालय एयरलायन्सको विमान र मलेसियबाट आएको नेपाल एयरलायन्सको विमान अवतरण गर्न नसकेर आकाशमै फन्को मारिरहेका छन्। भिजिविलिटी कम भएका कारण आन्तरिक उडान पनि प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

आज पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण स्वाथ्यका लागि घातक अवस्थामा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेको र प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौं उपत्यकामा बाक्लो तुवाँलो लागेको हो।

उपत्यकाबाहिरका केही स्थानमा पनि तुवालो कायमै छ। मौसम पूर्वानुमान महाशाखाले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ।

स्थिर रहेको वायुमण्डल आगामी तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् सजिना शाक्यले बताइन्। यसबाट हुने प्रदूषणले आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आउने भएकाले आवश्यक कामबाहेक घरबाहिर ननिस्किन, निस्किनु परेमा मास्क लगाउन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।