महन्थलाई प्रचण्डको प्रस्ताव : पीडितहरु मिलेर लडौं

काठमाडौं,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पीडितहरुको मोर्चा बनाएर लडाई लड्नुपर्ने बताएका छन् ।आज (शनिबार) बृहत नागरिक आन्दोलनले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टी र माओवादी केन्द्र दुवै पीडित भएका कारण पीडितहरु मिलेर लड्नु पर्ने बताए हुन् । ‘तपाईंहरु पनि पीडित हो, हामी पनि पीडित हो’, महन्थलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पीडितको मोर्चा बनाएर लडाइँ लड्ने हो, जित्ने हो ।’

उनले आफूले केपी शर्मा ओलीलाई हराएको र पार्टी साधारण सदस्यबाट समेत निष्काशन गरेको बताए । उनले आफू ओली प्रवृत्तिविरुद्ध अझै दुई–चार दिन संसदमा प्रयास गर्ने र भएन भने सडकमा आउने बताए ।पटक–पटक महन्थजी र म पहिचानका लागि लड्ने काम गरेका छौं, मधेशका निम्ति १३ सय जनाले सहादत दिएका छन्, त्यो कुरा महन्थजीलाई थाहा छ’, उनले थपे, ‘कहिले २२ दल त कहिले ३३ दलको संगठन बनाएर संघर्ष गरेकै हो ।’

संविधानलाई परिमार्जन गर्दै जानुपर्ने बताउँदै उनले आफू रेशम चौधरीको रिहाइको पक्षमा रहेको पनि बताए । उनले ओली गुटका मान्छेले एकपछि अर्को गर्दै जेलमा गएर चौधरीलाई भेटेको बताउँदै उनले त्यो सत्ता स्वार्थ बाहेक केही हुन नसक्ने बताए ।अध्यक्ष प्रचण्डले जन्मिसकेको बच्चालाई फेरि गर्भमा राख्ने अनौठो काम अदालतले गरेको टिप्पणी गरेका छन् । उनले नेकपा माओवादी केन्द्र र एमाले ब्यूँताउने फैसला गरेर अदालतले दिउँसै रात पार्ने काम गरेको टिप्पणी गरे ।