महाधिवेशको तयारी गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ, नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आगामी चैत २० गते बस्‍नेछ। पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन्।

सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय समिति बोलाउने सहमति भएको थियो। त्यही सहमतिअनुसार बैठक डाकिएको पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले बताए।

बैठकमा महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए।

पार्टीको महाधिवेशन आगामी भदौमा गर्ने निर्णय भए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको विवाद टुंगिएको छैन। क्रियाशील सदस्यता वितरण र नवीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेर यसलाई प्रभावकारी बनाउने रणनीतिअनुसार बैठक बोलाइएको हो।

कांग्रेसको देशभर १० लाख क्रियाशिल सदस्य रहेको अनुमान गरिए पनि चार लाख मात्र अद्यावधिक भएको छ। थुप्रै जिल्लाबाट क्रियाशील सदस्यताको प्रतिवेदन आइसकेको छैन। अबको बैठकमा क्रियाशील सदस्यता बुझाउने कार्यतालिका संशोधन गरिने संभावना छ।