सरकारले दिएको उपचार खर्च जोशीको परिवारले नलिने

काठमाडौं,नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग आर्थिक सहयोग गर्ने घोषना गरेको थियो।तर उनको परिवारले नलिने भएको छ।चैत ५ गते बसेको मन्त्रिपरिषद् बैठकले जोशीको उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ६ गते थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यसबारे जानकारी दिएका थिए।

तर, जोशीका स्वकीय सचिव पुष्कर पाण्डेका अनुसार परिवारले सरकारको उक्त रकम नलिने निर्णय गरेको हो।‘उपचार खर्च भन्दा पनि सरकारले सम्मानका लागि धन्यवाद। सरकारका मन्त्रीले नै सहयोग गर्छौं भनेर जानु भएको थियो, त्यसैअनुसार हामीले अप्रोच पनि गरेको हो। क्याबिनेटले १० लाख दिने निर्णय गर्‍यो भनेर प्रधानमन्त्री कार्यालयबाट फोन आयो।तर, उहाँहरुको परिवारले त्यो रकम स्वीकार नगर्ने निर्णय गर्नु भएछ पाण्डेले भने।

परिवारले उक्त सहयोग विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न आग्रहसमेत गरेको छ।पाण्डेले भने ‘सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो।  फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी छ।