कर्णाली साहित्य समाजले तिनजना साहित्यिक श्रष्टालाई सम्मान गर्दै

सुर्खेत,कर्णाली साहित्य समाजले तिनजना साहित्यिक श्रष्टालाई सम्मान गर्ने भएको छ। लोक संस्कृति तथा नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई कृति, साधना र प्रतिभा पुरस्कारद्धारा श्रष्टालाई सम्मान गर्न लागेको हो। बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कर्णाली साहित्य समाजले चैत्र ११ गते पुरस्कार वितरण गर्न लागेको जानकारी दिएको छ।२५ हजार राशिको साधना पुरस्कारतर्फ लोकसंस्कृतिका लेखक संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीलाई सम्मान प्रदान गर्न लागिएको छ। उनलाई कर्णाली साहित्य साधना सम्मान ताम्रपत्रसहित सम्मान गर्न लागिएको हो। शताब्दीपुरुष जोशी नेपालमा तीनपटक मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व हुन्। सोही राशिकै प्रतिभा पुरस्कार वरिष्ठ लोकसाधक प्रेमदेव गिरीलाई प्रदान गर्न लागिएको हो।५० हजार राशिको कृति पुरस्कारतर्फ ०७६ सालमा प्रकाशित कृतिमध्येबाट छनोट गरी ललित विष्टकृत कथासंग्रह ‘मोहपथ’लाई प्रदान गर्न लागिएको साहित्य समाजले जानकारी दिएको छ। कर्णाली साहित्य समाजले गत वर्ष स्थापना गरेको उक्त पुरस्कार कर्णालीमै संस्थागत रुपमा स्थापना गरिएको अहिलेसम्मकै ठूलो राशिको पुरस्कार हो। गत वर्ष कृति पुरस्कार महेश थापाको ‘मरीचिका’ कथासंग्रह, प्रतिभा पुरस्कारतर्फ बुद्धिसागर र साधन सम्मान ताम्रपत्रसहित कवि श्यामललाई प्रदान गरिएको थियो।

सत्यमोहन जोशीले कर्णालीलाई चिनाउनका लागि दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागेको कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारीले वताए। कर्णाली साहित्य समाजले कर्णाली चिनाउँदै नेपालभर भाषा, साहित्यको विकास, संरक्षण र संवर्द्धन साथै साहित्य श्रीवृद्धि गर्ने लक्ष्य लिएको समेत वताए।कर्णाली साहित्य समाजले निरन्तर रुपमा नेपाली साहित्य क्षेत्रमा क्षेत्रमा योगदान पुर्याउदै हौशला दिदै आएको छ।