झलनाथ-माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु हुँदैछ।बुधबार र बिहीबार काठमाडौँमा हुने भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने सो पक्षको दाबी छ।भेलाको सम्पूर्ण तयारी पूरा भएको भन्दै सो पक्षले मंगलबार नै पत्रकार सम्मेलनमार्फत जानकारी दिइसकेको छ।

नेकपाको एकतालाई सर्वोच्च अदालतले गत फागुन २३ मा खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको नेकपा एमालेलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विभाजनतर्फ लगेको भन्दै भेला राखेको हो।आजको सो पक्षको भेलामा पार्टीमा अहिलेसम्म भएका काम, ओली नेतृत्वको एमाले हुँदा भएका कमीकमजोरी र अबको बाटो कस्तो हुने भनेर अवधारणापत्र प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरेर पारित गर्ने तयारी रहेको जनाइएको छ।

गत शुक्रबार प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको खनाल-नेपाल पक्षले ओलीको निर्णयलाई चुनौती दिँदै समानान्तर कमिटी गठन गरेको थियो।सो पक्षले ओलीले एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै निर्वाचन आयोगमा पत्रसमेत बुझाएको छ ।