सुर्खेतमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।आयोजक चुली युवा क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै चैत ११ देखि १४ गतेसम्म वीरेन्द्रनगरमा प्रथम चुलीकप प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने वताएको छ। कोरोनाका कारण लामो समय खेलकुद गतिविधि सुस्त भएको बेला आफूहरुले प्रतियोगिता सञ्चालन गरेर प्रदेशको खेलकुद क्षेत्रलाई चलायमान बनाउने प्रयास गरेको क्लबका अध्यक्ष महेश जीसीले बताए।

जिल्ला खेलकुद विकास समितिको मैदानमा हुने प्रतियोगिता लिक आउट फर्म्याटमा सञ्चालन हुने आयोजकले जनाएको छ।अध्यक्ष जीसीका अनुसार प्रतियोगितामा देशभरका जुनसुकै क्लबले पनि सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँ पाउनेछ।यस्तै तेस्रो हुने टिमले एक लाख र सान्त्वना स्थान प्राप्त गर्ने टिमले ५० हजार रुपैयाँ पाउनेछन्।भलिबल प्रतियोगिता सञ्चालनका लागि निजी क्षेत्रबाट आर्थिक सहयोग भएको क्लबका अध्यक्ष जीसीले जानकारी दिए।