कर्णाली प्रदेशमा व्यक्तिगत स्वार्थको आरोपमा मन्त्रालयका सचिव सरुवा

सुर्खेत,मन्त्रालय कामकाज भन्दा व्यक्तिगत स्वार्थ हेर्ने सचिवलाइ लुम्विनी प्रदेश सरुवा गरिएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा कार्यरत सचिव लोकनाथ पौडेलले मन्त्रालयको काम नगरेर व्यक्तिगत लाभ हुने काम गरेको भन्दै मन्त्रालयले सरुवा गरेको हो। कर्णाली प्रदेशका सामाजिक विकास मंन्त्री दल रावलले कारवाहीको माग गर्दै पत्र मुख्यमन्त्रीलाइै पठाएका थिए।

मन्त्री रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र पठाएका हुन्।सचिव पौड्यालले पदबहाली गरेको समयदेखिनै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको, पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेको मन्त्रीले लेखेको पत्रमा उल्लेख गरिएको थियो।

चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि मन्त्रालयका कुनै कामहरु अघि नबढेपछि पत्र लेख्न बाध्य भएको मन्त्री रावलले बताए।चालू आर्थिक वर्ष २०७७र०७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्नेसम्मको काम नगरेको भन्दै । सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारबाही प्रक्रिया अघि बढाउन पत्रमा उल्लेख गरिएको थियो।

कर्णाली राजमार्गको दैलेखमा पर्ने आठबीस नगरपालिकामा ट्रमा सेन्टर, ७८ वटै पालिकामा खेल मैदान, पाँच जिल्लाका पाँच अस्पताल भवन निर्माणलगायतका कामहरु सचिवकै कारण सुरु हुँन नसकेको मन्त्रालयका एक कर्मचारीले बताएका छन्।सचिवकै कारण कर्णाली प्रदेश अस्पतालहरुमा कार्यरत विशेषज्ञ सेवा अन्तर्गतका कर्मचारीहरुले तलब पाएका छैनन्।अघिल्लो साता करारमा काम गर्दै आएका अस्पताल कर्मचारीहरुले सचिवको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए।

मन्त्री रावलको पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारबाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेपछि सचिव पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काजमा सरुवा गरेको छ।