दैलेखमा माइक्रो बस दुर्घटनाः दुई जनाको मृत्यु ७ घाइते

सुर्खेत,दैलेखको आठबिस नगरपालिकामा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।कालिकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको माइक्रो बस आठबिसको स्यालाकोट भनिने स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा कालिकोटको साविक भर्ती गाविस वडा नम्बर ९ का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेका छन्। दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

उक्त बसमा १५ जना यात्रु सवार थिए।माइक्रो अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनापछि चालक फरार रहेका छन्। दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।