२ वर्षपछि सार्वजनिक कार्यक्रममा विप्लव देखिदै

काठमाडौँ,नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच बिहीवार तीन बुँदे सहमति भएको छ।सहमति भएसँगै विप्लव समूहको प्रतिबन्ध पनि फुकुवा भएको छ । भोली दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन्।

उनी करिब २ वर्षपछि सार्वजनिक कार्यक्रममा देखिने भएका हुन्। राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना हुने भएको छ।सरकारले हिंसात्मक तथा आतंककारी गतिविधि गरेको भनी २०७५ फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि विप्लव समूहका झण्डै दुई हजार बढी नेता कार्यकर्ता पक्राउ परेका छन्।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई रहेका थिए भने विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ रहेका थिए।