बालुवाटारमा सरकार र विप्लव समूहको वार्ता जारी

सुरक्षा व्यवस्था कडा

काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच औपचारिक वार्ता भैरहेको छ।केहीसमय अघिबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच वार्ता जारी रहेको स्रोतले जताएको छ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई रहेका छन् भने विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन्।दुवै वार्ता टोली मंगलबार गठन भएका थिए। विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ काठमाडौं आएको थियो। त्यसपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

हाल जारी वार्तामा विप्लव समूहका मागमा छलफल भइरहेको बताइएको। विप्लव समूहले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको छ । सरकारले हिंसात्मक तथा आतंककारी गतिविधि गरेको भनी २०७५ फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि विप्लव समूहका झण्डै दुई हजार बढी नेता कार्यकर्ता पक्राउ परेका छन्।