रमेश घर्ति ‘आलोक’का दुई गजल

गजल

पुग्यो अब जिन्दगीको रमझम बन्द गर्नु पर्ला ।
सुस्ताएन त मनको घाउ मलम बन्द गर्नु पर्ला।

कति कोरेँ मनका भाव हिसाब छैन आजसम्म ।
आम्दानी भएन लेखेर कलम बन्द गर्नु पर्ला।

सिकाएन शिक्षाले यहाँ कसरी हो जीवन बाँच्ने ?
पैसा तिर्ने अनि ज्ञान किन्ने इलम बन्द गर्नु पर्ला।

देखिएन कहिँ आजसम्म सुशासन र जनतन्त्र ।
आडम्बरी राजनीतिको फिलिम बन्द गर्नु पर्ला।

मन त जल्दै थियो थियो तन पनि जल्दै गयो ।
हानिकारक प्रीमरुपी चिलिम बन्द गर्नु पर्ला।

गजल

संसार जितौँ तापनि उ सँग हार स्विकार्नै पर्‍यो ।
प्रेमपनले उसका नखरिला प्रहार स्विकार्नै पर्‍यो।

जहाँ दुनियाँले महोदय भन्दै आदर गर्छन त्यहीँ ।
ओइ भन्छे त उसको अधिकार स्विकार्नै पर्‍यो।

पुरुष प्रधान भन्दै गर्ने अनि झुक्दै गर्ने नारी अघि ।
पुर्ख्यौलिको रित हो त बारबार स्विकार्नै पर्‍यो।

सुन्नुपर्छ हजार शब्द पछि थुन्नुपर्छ कान आफ्नै ।
वरदान होकि अभिषापको तरबार स्विकार्नै पर्‍यो।

मनमा जेहोस ओठमा हाँसो नभए छोडिजाने डर ।
चल्दैन रे सृष्टि र पो त घरबार स्विकार्नै पर्‍यो।