मोटरसाइकल दुर्घटना

एक जनाको मृत्यु

दमौली,पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका २ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते समेत भएकी छन् ।

मृत्यु हुनेमा व्यास २ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते छन् ।

दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।