भागरथी भट्टको हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा

काठमाडौँ,बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीको बढुवा भएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरिएको हो ।

पदमबहादुर प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् भने नरबहादुर प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन् ।यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन् ।

घटनास्थलमै पुगेर अनुसन्धानमा खटिएका प्रमुख प्रमुखसहित पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दी भएका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर छन् ।