सुर्खेतमा प्रचण्ड–माधव पक्षको विजय र्याली (फोटो सहित)

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रचण्ड-नेपाल समुहले विजय र्याली निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको खुसीयालीमा प्रचण्ड–माधव समूहले सुर्खेतमा विजय र्याली निकालेको हो।बुधबार दिउँसो वीरेन्द्रनगर स्थित मंगलगढि चोकबाट नाचगान सहित निकालीएको विजय र्याली पिपल चौतारा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा प्रचण्ड–माधव समूहका नेता तथा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, प्रतिनिधिसभा सदस्य घुर्वकुमार शाही, प्रदेशसभा सदस्यहरु बिन्दमान बिष्ट, पद्मा खड्का, गणेश प्रसाद सिंह लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।निधारमा अविर, हातमा सूर्य चिन्ह्र सहित सडकमा आएका उनीहरुले प्रचण्ड–माधव पक्षको मात्र नभएर जनताको जित भएको बताएका थिए ।साथै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा समेत मागेका छन् ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य धुर्वकुमार शाहीले ओलीको असंवैधानिक कदम जनतासामू पतन भएको बताए । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेर सर्वोच्चले न्यायको अनुभूति दिएको उनको भनाई रहेकाे छ ।