सुर्खेतमा हुने भनिएको ओली समुहको आमसभा स्थगित

सुर्खेत,कर्णाली प्रदेशमा ओली पक्षको फाल्गुन १४ गते हुने भनिएको आमसभा स्थगित भएको छ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने फैसला गरेपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आमसभा स्थगित भएको हो ।

सर्वोच्चको निर्णयले देशको राजनीतिक अवस्था परिवर्तन भएपछि प्रधानमन्त्री ओलीको समय नमिल्ने भएपछि कार्यक्रम स्थगित गर्नु परेको नेकपा ओली समुहका कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले वताएका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको विशेष संम्वोधन हुने भनिएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको थियो । बोगटीले भने तर मंगलबार भएको सर्वोच्चको निर्णयबाट देशको राजनीतिक अवस्थाले नयाँ मोड लिएपछि प्रधानमन्त्रीको व्यस्थता अन्यत्रै हुने भएपछि हामीले कार्यक्रम स्थगित गरेका हौं ।

कार्यक्रमको मिति नजिकीदैं गर्दा कर्णाली प्रदेश राजधानीको घण्टाघरदेखि उत्तरतर्फ सामाजिक विकास मन्त्रालय पछाडीको खुला चौरलाई व्यवस्थित गर्ने काम अन्तिममा पुगेको थियो ।कार्यक्रममा सहभागि हुन प्रदेशका दशवटै जिल्लाबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ता सुर्खेत आउँदै गरेको बेला कार्यक्रम स्थगित हुनुले केही समस्या भएको हो ।