महोत्तरीमा दम्पतिको अपहरण

हत्या भएको आशंका

महोत्तरी,महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का दुई दम्पतिको मध्यरातमा अपहरण भएको छ । गएराति घरमा सुतिरहेका ६५ वर्षीय मुसिसिर झा र उनकी ६० वर्षीया श्रीमती गितादेवी झाको अपहरण भएको हो ।

घटनास्थलको प्रकृति हेर्दा मध्यरातमा पर्खाल नाघेर घरभित्र पसेका अपहरणकारीले दम्पतीलाई कुटपिट गरी घिसार्दै लगेको देखिएको छ । उनीहरु सुतेको कोठा वरिपरी रगतको छिर्काहरु देखिएको छ । यसले गर्दा दम्पतीको हत्या पनि भइसकेको हो कि भन्ने प्रहरीको आशंका रहेको छ ।

घरको तल्लो तलामा सुतेकी झाकी कान्छी बुहारी उषा झा र नातिनातिना भने सकुशल रहेका छन् । बुहारी उषा झाले भनिन् ‘आफू उठ्दा घरमा रगतका छिर्का देखें, बुबाआमा सुतेको ठाउँमा गएर हेर्दा त्यहाँ उहाँहरु दुवैजना नदेखेपछि छिमेकीलाई खबर गरेँ । ’

तत्काल छिमेकीले स्थानीय प्रहरीलाई खबर गरेपनि प्रहरी भने डेढघण्टा बित्दा पनि घटनास्थल पुगेन । अहिले जिल्ला प्रहरी कार्यालयबाट एसपी टिकाबहादुर केसी र डिएसपी प्रकाश विष्ट सहितको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

घटनास्थलमा तालिमप्राप्त कुकर पनि लगिएको छ । प्रहरी घटनास्थलमा पुग्न ढिलाइ भएको भन्दै आक्रोशित आफन्तले हुलाकी राजर्मागको विर्तामोड–जनकपुर सडकखण्डको चहोडवा क्षेत्र अवरुद्ध गरेका छन् ।